सिन्धुपाल्चोक, बाह्रबिसे । बाह्रबिसे नगरपालिका वडा नं. ७ डाँडागाउँका हरि खत्रीलाई नगरप्रमुख बालकृष्ण बस्नेतले गाँस, वास र कपासको पूर्ण व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन्। पहिचानको अभाव र आर्थिक समस्यामा परेका खत्रीलाई सामाजिक अभियन्ता अर्जुन भुसालले करिब ४० वर्षपछि परिवारसँग पुनर्मिलन गराएका हुन्।
नगरप्रमुख बस्नेतले खत्रीका लागि एउटा घर निर्माण गर्ने र तत्काल कृषि व्यवसाय सुरु गर्नका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। साथै, खत्रीका छोराछोरीमध्ये एक जनालाई रोजगारीको व्यवस्था गर्ने र परिवारलाई नागरिकता प्रमाणपत्र बनाउने सहजीकरण समेत नगरपालिकाबाट गरिनेछ।
सडक मानवझैं जीवन बिताउँदै आएका खत्रीलाई खाद्यान्न, लत्ताकपडा, सिरक–डसना, गाडी भाडालगायत सबै आवश्यक सामग्रीको पनि व्यवस्था गरिने छ। गरीबीका कारण छोराछोरीलाई छोडेर हिँड्न बाध्य खत्रीका सन्तानले वालआश्रममा बसेर अध्ययन गरेका थिए। ती सन्तानहरूले झण्डै १८ वर्षपछि आफ्ना बाबुसँग भेट गरेका हुन्।
पहिचान संकट, परिवार विछोड, आर्थिक संकटजस्ता समस्याबाट गुज्रिरहेका खत्रीको जीवनलाई पुनः सामान्य बनाउन नगरपालिकाले नेतृत्व लिएको छ। नगरप्रमुख बस्नेतको सक्रियताले हरि खत्रीको पुनर्स्थापना अभियानले आशा र सम्भावनाको नयाँ ढोका खोलेको छ।