विराटनगर, मोरङ – जेनजी समूहको आन्दोलनका नाममा मोरङ जिल्लामा व्यापक आगजनी र तोडफोड गरिएको छ। अराजक समूहले १०३ वटा सरकारी कार्यालय ध्वस्त पार्नुका साथै प्रहरी कार्यालय, पार्टी कार्यालय, व्यापारिक भवन र निजी घरहरूमा समेत क्षति पुर्याएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार २१ वटा संघीय सरकार मातहतका कार्यालयमा क्षति पुर्याइएको छ। जिल्लामा कुल ७३ वटा संघीय कार्यालयहरू छन्। त्यसैगरी, प्रदेश सरकार अन्तर्गतका १४ वटा कार्यालयमा आगजनी र तोडफोड भएको छ, जसमा प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ वटा मन्त्रालय रहेका छन्।
स्थानीय तहको हिसाबमा, मोरङका १७ मध्ये १० वटा स्थानीय तह कार्यालय र १५९ मध्ये ५८ वटा वडा कार्यालयमा तोडफोड र आगजनी भएको छ। प्रशासनले दिएको जानकारीअनुसार १५ वटा निजी घर, ३ वटा व्यापारिक भवन (भाटभटेनी सुपरमार्केटसहित), ८ वटा राजनीतिक दलका कार्यालय, र ४ वटा अन्य संघसंस्थामा समेत क्षति पुर्याइएको छ।
यस्तै, नेपाल प्रहरीका १७ वटा कार्यालय र सशस्त्र प्रहरी बलका ४ वटा पोस्टमा समेत तोडफोड र आगजनी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, उच्च अदालत, प्रदेशसभा सचिवालय, प्रदेश प्रमुखको कार्यालयलगायतका सरकारी संरचनामा समेत क्षति पुर्याइएको छ।
प्रशासनका अनुसार, आगजनी र तोडफोडसँगै लुटपाट तथा चोरीका घटनाहरू समेत भएका छन्। अराजक समूहले विराटनगर महानगरपालिका, महानगरका वडा कार्यालयहरू, र कोशी प्रदेशका सबै मन्त्रालयमा समेत आक्रमण गरेका थिए।