विराटनगर । जेनजी समूहले सुरु गरेको आन्दोलन अराजकतामा परिणत हुँदा कोशी प्रदेश सरकारले ठूलो भौतिक क्षति बेहोर्नु परेको छ। आन्दोलनका नाममा अराजक समूहले आगजनी एवं तोडफोड गर्दा प्रदेश सरकारका संरचना थिलथिलो बनेका छन्।
प्रदर्शनकारीले कोशी प्रदेश सरकार मातहतका कार्यालयहरूमा आगजनी तथा तोडफोड गर्दा सरकारी संरचना र सम्पत्तिमा अत्यन्तै धेरै क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संकलन गरेको प्रतिवेदनअनुसार कुल ४२ वटा भवनमा क्षति पुगेको छ। तीमध्ये १८ वटा भवन पूर्णरूपमा जलेर प्रयोगविहीन बनेका छन् भने २४ वटा भवन आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
यस्तै, सरकारी सवारीसाधन पनि जलाएर व्यापक क्षति गरिएको छ। ६४ वटा चारपांग्रे गाडी पूर्णरूपमा जलेका छन् भने थप १२ वटा गाडीमा आंशिक क्षति पुगेको छ। प्रदेश सरकार मातहतको कार्यालयका कर्मचारीहरूले प्रयोग गर्दै आएका १ सय ४४ मोटरसाइकल र स्कुटर जलेर नष्ट भएका छन्। तीमध्ये १७ वटा मोटरसाइकल आंशिक क्षतिग्रस्त छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै विवरण अनुसार मुख्यमन्त्री कार्यालय अन्तर्गतका ४ वटा भवन पूर्णरूपमा र २ भवन आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, सो कार्यालयका ९ वटा सवारी साधन जलेका छन्। पर्यटन, वन तथा वातावरण मन्त्रालय सबैभन्दा बढी प्रभावित भएको मन्त्रालयमध्ये एउटा हो। यसको ५ वटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १० वटा गाडी जलेका छन्। खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका ४ वटा गाडी, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका ११ वटा गाडी र ५ वटा भवनमा क्षति पुगेको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गतको एउटा भवन र एउटा गाडी पूर्ण रूपमा जलेको छ भने सामाजिक विकास मन्त्रालयका २ भवनमा पूर्ण क्षति पुगेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका २ भवन र ८ वटा गाडी, भौतिक पूर्वाधार विकास मन्त्रालयका ७ वटा गाडी र स्वास्थ्य मन्त्रालयका ३ वटा गाडी आगोले जलेका छन्।
यसबाहेक, प्रदेशसभा सचिवालय पनि आगजनीको निसानामा परेको छ। सचिवालयका ४ वटा भवन र ८ वटा चारपांग्रे गाडी जलेका छन्। प्रदेश योजना आयोगका ३ वटा गाडी पनि ध्वस्त भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार क्षतिको तथ्यांक प्रारम्भिक मात्र हो। विस्तृत मूल्यांकनपछि क्षतिको परिमाण अझ बढ्न सक्ने उनले बताए।