हेटौंडा । गत मंगलबार भएको जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेश सभाको नवनिर्मित भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ। करिब १२ करोड २९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनमा उद्घाटन भएको एक महिना नपुग्दै आगजनी भएको हो। अगस्त ११ (२०७९ साउन २७) मा औपचारिक रूपमा उद्घाटन गरिएको भवनबाट जम्मा तीनवटा मात्र बैठक सञ्चालन भएका थिए।

प्रदर्शनकारीहरूले भवनमा तोडफोड र आगजनी मात्र होइन, भित्र रहेका सामग्रीहरू जस्तै ल्यापटप, क्यामेरा, कम्प्युटर, फर्निचर, टेलिभिजनलगायतका उपकरणहरू चोरीसमेत गरेका छन्। प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनकारीले सुरुमा नाराबाजी गर्दै ढुंगा र ईँटा प्रहार गरेका थिए, पछि गेट र पर्खाल फोडेर भवनभित्र पसेर तोडफोड र आगजनी गरेका थिए। पुरानो र नयाँ दुवै भवनमा क्षति

नयाँ भवन मात्र होइन, प्रदेश सभाको पुरानो भवन पनि पूर्णरूपमा क्षति भएको छ। भित्री संरचना, कागजातहरू र अन्य भौतिक सामग्री जलेर नष्ट भएका छन्। आगजनीपछि पुरानो भवनको भित्तामा चिरा परेको र प्रयोग अयोग्य भएको सचिवालयले जनाएको छ।

 निर्माणमा चार वर्ष, सञ्चालनमा एक महिना

उक्त भवन २०७७ मंसिर १० मा शिलान्यास गरिएको थियो र १८ महिनाभित्र सम्पन्न गर्ने योजना थियो। तर, निर्माण व्यवसायीको ढिलासुस्तीका कारण साढे चार वर्ष लागेर मात्र निर्माण सम्पन्न भएको हो। अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले EPS स्यान्डवीच प्रविधिबाट भवन निर्माण गरेको थियो।

संसदीय दलका कार्यालयहरूमा पनि आगजनी

प्रदेश सभा सचिवालय भवनमा रहेका विभिन्न दलका संसदीय कार्यालयहरूमा पनि तोडफोड र आगजनी भएको छ। कांग्रेस संसदीय दलको कार्यालय भने सुरक्षित रहेको सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए। त्यसको माथिल्लो तलामा रहेको नेकपा माओवादी केन्द्रको कार्यालयमा आंशिक क्षति पुगेको छ।

सवारी र अन्य संरचनामा क्षति

प्रदर्शनकारीहरूले प्रदेश सभा परिसरमा रहेका सरकारी तथा निजी सवारीसाधनमा समेत आगजनी गरेका छन्। साथै, चमेना गृह र अन्य संरचनाहरू समेत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *