सिन्धुपाल्चोक । काठमाडौँलगायत देशका विभिन्न स्थानहरूमा ‘Generation Z’ को अगुवाइमा भएको शान्तिपूर्ण आन्दोलनको क्रममा घटेको दुर्भाग्यपूर्ण हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भोटेकोशी गाउँपालिकाले आज मिति २०८२ भदौ २४ गते (मंगलबार) एक दिनको शोक विदा दिने निर्णय गरेको छ।
गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू समेत बन्द हुने निर्णय लिइएको हो। सोमबार काठमाडौँमा भएको आन्दोलनमा सहभागी एक युवाको ज्यान गएको घटनापछि देशभर शोकको लहर फैलिएको छ। यही घटनालाई ध्यानमा राख्दै गाउँपालिकाले शोक प्रकटस्वरूप कार्यालय र विद्यालयहरू बन्द गर्ने निर्णय लिएको जनाएको छ।
यस निर्णयको जानकारी गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक गरेको हो।