हेटौंडा, २२ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री युवराज दुलाल (समीर) ले बागमती प्रदेशवासी तथा सम्पूर्ण नेपालीलाई छोनाम (न्याङी) पर्व २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।
छोनाम पर्वले सबै जातजाति, समुदाय, धर्म, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा टेवा पु¥याउने भन्दै मुख्यमन्त्री दुलालले पर्वको महत्वलाई स्मरण गराएका छन्। विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरूले आपसी एकता, सद्भाव र समरसता बढाउने उल्लेख गर्दै उनले पर्वले राष्ट्रियता र सामाजिक सद्भावमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
छोनाम पर्व विशेषगरी तामाङ, योल्मो, तिङलापाङ, भोटे समुदायका बीचमा विशेष महत्व राख्ने पर्व हो। यस अवसरमा नदी, खोलाको पूजा, बत्ती बाल्ने, दीप प्रज्वलन, फूल बिछ्याउने, र सामूहिक भोज जस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिहरू गरिन्छन्। पर्वले परम्परागत मूल्य र मान्यता जोगाउन सहयोग पुर्याउने भन्दै मुख्यमन्त्रीले यसको संरक्षणमा सबैको साथ आवश्यक रहेको पनि उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले बागमती प्रदेश सरकार विविध समुदायको सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै सबैमा एकता, समृद्धि र शान्तिको कामना गरेका छन्।