सिन्धुपाल्चोक, लिसंखुपाखर | लिसंखुपाखर गाउँपालिकाले चालु आर्थिक वर्षदेखि मासिक घुम्ती स्वास्थ्य सेवा सुरु गरेको छ। मंगलबारदेखि सुरु भएको उक्त सेवा गाउँपालिकाका सातै वडामा एकैसाथ सञ्चालन गरिएको हो।
स्थानीय नागरिकहरूलाई लक्षित गरी सुरु गरिएको उक्त कार्यक्रममा निशुल्क स्वास्थ्य परामर्श, परीक्षण र औषधि वितरण जस्ता सेवा प्रदान गरिन्छ। कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष राजु लामाले गरेका हुन्।
सेवाअन्तर्गत सुगर, प्रेसर, युरिन परीक्षण, मुटुको धडकन जाँच, नियमित रूपमा वितरण हुने औषधिको आपूर्ति र बिरामीको मागअनुसार आवश्यक औषधि वितरण गरिने गाउँपालिकाले जनाएको छ।
यस सेवाबाट जेष्ठ नागरिकहरूको डाटा संकलन, दीर्घरोग पहिचान तथा स्वास्थ्य बीमा सम्बन्धी थप जानकारीसमेत प्रदान गरिनेछ।
अध्यक्ष लामाका अनुसार गाउँपालिकाले स्वास्थ्य सेवा प्राथमिकतामा राखेको छ र आगामी दिनमा मासिक घुम्ती स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गरिने प्रतिबद्धता जनाएको छ।