धनगढी । फोहर व्यवस्थापनजस्तो जटिल विषयमा पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्यले नयाँ उदाहरण प्रस्तुत गरेको छ। मंगलबार धनगढीमा भएको परियोजना प्रस्तुतीकरण कार्यक्रममा दुवै सहरले आ–आफ्ना अनुभव साझा गर्दै दीगो फोहर व्यवस्थापनतर्फको यात्रालाई स्पष्ट पारे।

धनगढीले एकपटक प्रयोगपछि फालिने प्लास्टिकमा प्रतिबन्ध लगाउँदै फोहरको मूल कारणमाथि नै हस्तक्षेप गरेको छ। नगरप्रमुख गोपी हमालले फोहर व्यवस्थापन र सरसफाइलाई पालिकाको “गौरवको योजना”का रूपमा प्राथमिकता दिएको बताए।

उनले सरसफाइलाई पूर्वाधारभन्दा महत्वपूर्ण योजना मानेर बजेट र कार्यक्रम तय गरिएको जानकारी दिए। व्यक्तिमा फोहर नगर्ने बानी विकास गर्न सके फोहर व्यवस्थापन सजिलो हुने धारणा पनि व्यक्त गरे।

वातावरण अधिकृत अशोक अवस्थीका अनुसार हाल ९५% फोहर घरमै वर्गीकरण हुँदैछ। उपमहानगरले बायो ग्यास उत्पादन, अस्पतालजन्य फोहरको छुट्टै व्यवस्थापन, सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालन तथा निजी क्षेत्र र समुदायसँग सहकार्य गर्दै व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाएको छ।

फोहरबाट रोजगारी र आयआर्जनको सम्भावनालाई समेत मुख्य एजेन्डा बनाइएको कार्यक्रमका वक्ताहरूले बताएका छन्। पोखरामा भने रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जनाको प्रयास भइरहेको छ।

धनगढी र पोखराको यो साझा पहलले अन्य स्थानीय तहका लागि पनि मार्गनिर्देशकको भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *