हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नैतिक शिक्षालाई समावेश गर्न आग्रह गरेका छन् । नेपाल स्काउट, बागमती प्रदेश स्काउट, महेन्द्र मावि र स्थानीय स्काउट हेटौडा १३ को संयुक्त आयोजनामा आजबाट सुरु भएको ५ दिने स्काउट ओ–रामा फेष्टिवल क्याम्प २०८२ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले संघीयता प्रति देखिएको नकारात्मक भाष्यलाई चिर्न नैतिक शिक्षा जरुरी देखिएको भन्दै कक्षा ८ सम्म नैतिक शिक्षालाई समावेश गर्न पनि स्थानीय सरकारलाई आग्रह गरेका हुन् । उनले नकारात्मक कुराहरुलाई सामाजिक सञ्जाल मार्फत् अफवाह फैलाउने गतिविधि समाजमा बढ्दै गइरहेको बताए ।
समाजलाई गतिशिल र प्रगतिशिल बनाउन अहिलेको व्यवस्था ल्याएको बताउँदै उनले लामो संघर्षबाट प्राप्त भएको व्यवस्था प्रति गलत भ्रम फैलाउनेहरुलाई धैर्यवान भएर परिणामबाट जवाफ दिनुपर्नेमा जोड दिए ।
स्काउट ओ–रामा फेष्टिवल क्याम्प यही भदौ १७ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तान, हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।