मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ ।मुख्यमन्त्री बानियाँले प्रतिष्ठान र हेटौँडा अस्पताल अवलोकन गरेसँगै दुवै संस्थाको अवस्थाबारे बिहीबार छलफलपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको गौरवको आयोजना भएको बताउनुभयो । प्रतिष्ठानका विभिन्न सङ्काय छुट्टाछुट्टै स्थानबाट सञ्चालन गर्नु समय र खर्चका दृष्टिले उचित नभएको उहाँले उल्लेख गर्नुभयो । एकीकृत रूपमा सञ्चालनका लागि प्रतिष्ठानको भौतिक पूर्वाधारको काम द्रुत गतिमा अघि बढाउन प्रतिष्ठान प्रशासनलाई निर्देशन दिनुभएको हो ।

“प्रतिष्ठानले अस्पताललाई प्रशिक्षण गर्ने स्थानको रूपमा प्रयोग गर्दै आएको छ । प्रतिष्ठानको पूर्वाधार निर्माणका लागि पैसाको अभावले काम रोकिँदैन,” मुख्यमन्त्री बानियाँले भन्नुभयो, “डिपिआर अनुसार काम गर्नूस् । एकीकृत रूपमा प्रतिष्ठानका सङ्काय र कार्यालय सञ्चालन हुन आवश्यक छ । धेरै ठाउँमा चलाउँदा खर्च र समय बढी जान्छ, बचत गर्नेतिर लाग्नु पर्छ ।”

उहाँले ११ महिनाभित्र छरिएर रहेका कार्यालय र सबै सङ्काय एकै स्थानबाट सञ्चालन गर्ने गरी तयारी गर्न र दुई सय शøयाको अस्पतालका लागि प्रव्रिmया अगाडि बढाउन निर्देशन दिँदै राजनीतिक सिद्धान्त र विचार फरक भए पनि अस्पताल नागरिकको स्वास्थ्यसँग जोडिएको विषय भएकाले काम रोक्न नहुने बताउनुभयो । मुख्यमन्त्रीले भन्नुभयो, “ठेक्का सम्झौता अनुसार काम भएको छैन, किन ढिलाइ भएको हो ? निर्माण कम्पनी वा प्रतिष्ठानका पदाधिकारी जो भए पनि पहिचान गरी स्पष्टीकरण सोध्ने र कारबाहीको दायरामा ल्याउने प्रव्रिmयामा लाग्नु पर्छ ।”

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानका सन्दर्भमा बिचमा केही समस्या आएकाले आयोजना कार्यान्वयनमा केही ढिलाइ भएको भन्दै अब केही समस्या नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षण अस्पतालका रूपमा अगाडि बढेकाले कुनै बहानाबाजी बनाएर काम रोक्नु हुँदैन । प्रतिष्ठान हेटौँडाको मात्र नभएर प्रदेशको गौरवको योजना भएकाले सबैले जिम्मेवारीबोध गर्नु पर्छ ।”

प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रतिष्ठानका विभिन्न सङ्काय नगरका विभिन्न स्थानमा छरिएर रहँदा समस्या भएको भन्दै एकीकृत गरेर सञ्चालन गर्दा सेवा प्रवाहमा सहजतासँगै प्रभावकारी हुने बताउनुभयो । उहाँले पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेको र प्रतिष्ठानका पूर्वाधार निर्माणमा बजेट अभाव रहेको जानकारी गराउनुभएको थियो ।

प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले प्रतिष्ठान स्वायत्त संस्थाका रूपमा अगाडि बढेको भन्दै प्रतिष्ठानले स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादनको काम गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *