सिन्धुपाल्चोक । इको पहिरोका कारण भोटेकोशी गाउँपालिका–२ का सय बढी घरबस्ती उच्च जोखिममा परेको छ । वर्षातले इको पहिरो बगिरहेको र तल भोटेकोशी नदीको बहावले पहिरो तानिरहेपछि इको पहिरोमाथिका बस्ती उच्च जोखिममा परेका छन् ।
इको पहिरोमाथि चौकीडाँडा, गुम्बाडाँडा, मिलनबजार, लालविरचोक, कोदारी गुम्बा क्षेत्र, कुदुङ गाउँ, तक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार, तामाङ गुम्बा लगायतका घरबस्ती उच्च जोखिममा परेको हो ।
निरन्तरको वर्षातले दैनिक रूपमा इको पहिरो बगिरहेका छ । सो पहिरो घरबस्ती डिलमा पुग्न थालेको छ । पहिरोको खतराका कारण उक्त घरगाउँका स्थानीयहरू घरमा ताला लगाएर अन्यत्र सरेका छन् । कतिपय स्थानीयहरू बाह्रबिसे, तातोपानी बजार, कोदारीबजार, खोकुण्डोल, चाकुलगायत राजधानीतर्फ विस्थापित भएका छन् । अन्यत्र गएर बस्न नसक्ने अवस्थाका कतिपय स्थानीयहरू जोखिम मोलेर पहिरो माथिका बस्तीमा बस्न बाध्य छन् । उनीहरू सुरक्षित स्थानका लागि स्थानीय सरकारसँग आग्रह गरिरहेका छन् ।
इको पहिरोलाई दिगो रूपमा नियन्त्रण गरेर सडक र बस्तीलाई संरक्षण गर्न वडाध्यक्ष कुमार श्रेष्ठ पहलमा प्रतिनिधि सभा १ मा माधव सापकोटा नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्की र पदाधिकारी, सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका पदाधिकारी, राजनीतिक दलको प्रतिनिधिहरूले केही साताअघि भौतिक पूर्वाधार तथा यातयातमन्त्री देवेन्द्र दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । मन्त्री दाहालको निर्देशनमा सडक विभागका सुपरिडेन्टेन्ट इन्जिनियर समेत रहेका भूगोलविद् शुभराज न्यौपानेको टोलीले इको पहिरो, सडक र जोखिमयुक्त बस्तीको स्थलगत अवलोकन गरेर फर्केको थियो । उक्त टोलीको स्थलगत अवलोकनपछि दिगो रूपमा पहिरो नियन्त्रण, बस्ती संरक्षण र सडकको स्त्तरोन्नतिबारे काम अघि बढेको आशामा रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
पहिरो र बस्ती जोगाउन स्थानीयवासी, नाका आबद्ध विभिन्न व्यापारिक सङ्घसंस्था, राजनीतिक दल, व्यापारी व्यवसायीहरूले सरकारसँग माग गरिरहेका छन् ।