काठमाडौँ । मनसुनको न्यून चापीय रेखा आफ्नो औसत स्थानमा सक्रिय रहँदा र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढ्दा देशभरको मौसम प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभर साधारणतया बदली रही अधिकांश स्थानमा वर्षा हुने जनाएको छ, विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी, लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र अन्य तराईका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
विशेषगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले ती क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र बाढीको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसका साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको चेतावनी दिइएको छ।
हाल (सोमबार बिहान) कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका अन्य पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। मनसुन सक्रिय रहेकाले आगामी केही दिन मौसममा यस्तै बदली र वर्षाको क्रम जारी रहने देखिन्छ।