इटहरी, मोरङ – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको पहलमा मोरङको सुन्दरहरैंचा नगरपालिका–५ तिनपैनीस्थित एक विपन्न सुकुम्बासी दर्जी परिवारलाई जस्ता पाताको सहयोग गरिएको छ।
गत जेठमा आएको हावाहुरीले घर उडाएपछि असहाय बनेको परिवारलाई स्थानीयस्तरबाट काठको व्यवस्था गरिए पनि छाना राख्न नसकिएको अवस्थामा कार्कीको पहलले राहत पुगेको हो।
नेपाली कांग्रेस सुन्दरहरैंचा–५ का सभापति घनश्याम न्यौपानेका अनुसार, वडाबाट कुनै सहयोग नपाएपछि पूर्वमुख्यमन्त्री कार्कीलाई जानकारी दिइएको थियो। त्यसपछि उनले व्यक्तिगत पहलमा जस्ता पाताको व्यवस्था गराएका हुन्।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री कार्कीले सरकारका कार्यक्रमहरु विपन्न समुदायसम्म प्रभावकारी रूपमा नपुगेकोमा चिन्ता व्यक्त गरे। उनले आफूले नेतृत्व सम्हालेको समयदेखि नै जनमुखी अभियानलाई प्राथमिकता दिँदै आएको उल्लेख गरे।
“सरकारले सबै घर–घर पुग्न सकेको छैन, त्यसैले हामी आफैंले पनि सक्दो पहल गर्नुपर्छ,” उनले भने।
यसअघि पनि कार्कीको नेतृत्वमा विराटनगर–१२ मा सुकुम्बासीका लागि नमूना बस्ती निर्माण भइसकेको छ। सुन्दरहरैंचाको यो सहयोग त्यसैको निरन्तरता भएको उनले बताए।
स्थानीयवासीले कार्कीको सामाजिक उत्तरदायित्वप्रति धन्यवाद दिँदै यस्ता सहयोगमूलक अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन्।