सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ अन्तर्गतको साँगाचोक बजारमा ठुलो मात्रामा म्याद गुज्रिएका खाद्यपदार्थ फेला परेका छन्।
प्रमुख जिल्ला अधिकारी मुक्ति बास्तोलाको अध्यक्षतामा भएको बैठकको निर्णयअनुसार उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख त्रिपुरारी बख्रेलसहितको टोलीले बिहीबार गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यपदार्थ फेला परेको हो ।
बजारमा विना इजाजत सञ्चालित एक मेडिकललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, म्याद गुज्रिएका हलुका पेयपदार्थहरू ठूलो परिमाणमा जफत गरिएको छ। साथै, अवैध गतिविधि गरेको एक होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
अनुगमन टोलीले करिब २० हजार २ सय रुपैयाँ बराबरका म्याद नाघेका सामान नष्ट गरेको जनाएको छ।