हेटौंडा  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न  दाबी पेश गरिएको छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष प्रदेश सभा दुई ठुला दल कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गर्न दाबी पेश गर्दै सोमबार पत्र बुझाएका हुन् । पत्र बुझाउन कांग्रेस संसदीय दलका नेता बानियाँ, एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालगायतका नेता पुगेका थिए ।

प्रदेश प्रमुखबाट सोमबार बागमती प्रदेशमा, नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न दाबी पेश गर्न गरिएको आह्वान अनुसार दाबी पेस गरिएको प्रदेश प्रमुख समक्ष बुझाइएको पत्रमा उल्लेख छ ।

बागमती प्रदेश सभामा रहेका ११० जना माननीय प्रदेश सभा सदस्यहरुमध्ये नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका ३७ जना माननीय सदस्यहरु र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सभा संसदीय दलका २७ जना गरी जम्मा ६४ जना बहुमत प्रदेश सभा सदस्यहरु रहेका छन्।

कांग्रेस संसदीय दल र एमाले संसदीय दलको समर्थनमा कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बानियाँलाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुखसमक्ष दावी पेश गर्दछौं, प्रदेश प्रमुखसमक्ष बुझाइएको दाबी पत्रमा भनिएको छ ।

उक्त पत्रमा कांग्रेस संसदीय दलका बानियाँ र एमाले संसदीय दलका नेता थपलियाले हस्ताक्षर गरेका छन् ।

यसअघि बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आइतबारबाट लागू हुने गरी मुख्यमन्त्रीको पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री नियुक्तका लागि सोमबार आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्गलबार दिउँसो २ बजेभित्र दाबी पेश गर्न आह्वान गर्दै विज्ञप्ति जारी गरिएको थियो ।

प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री लामाको राजीनामा पत्र सोमबार बुझाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *