विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षको अवधिमा यो मन्त्रालयले कुल पाँच अर्ब ९५ करोड रुपियाँभन्दा बढी बेरुजुमध्ये चार अर्ब एक करोड ४४ लाख रुपियाँभन्दा बढी बेरुजु फर्छ्यौट गर्न सफल भएको छ ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भूपेन्द्र राईले बेरुजु फर्छ्यौटको तथ्याङ्क सार्वजनिक गर्दै यो सुधारात्मक पहल रहेको बताताएका हुन् । उनले कूल बेरुजुमध्ये ६७.४१ प्रतिशत फर्छ्यौट भइसकेको बताउदै भन्दै भने असुल गर्नुपर्ने बेरुजु १० करोड ९८ लाख रुपियाँ, पेस्की बेरुजु तीन अर्ब ६ करोड रुपियाँ र नियमित गर्नुपर्ने एक अर्ब एक करोड रुपियाँमध्ये अधिकांश रकम फर्छ्यौट भएको हो ।
मन्त्रालयले बेरुजु नियन्त्रणसँगै विकास निर्माणमा पनि उल्लेख्य प्रगति गरेको मन्त्री राईले पत्रकार सम्मेलनमा जनाउनुभयो । मन्त्री राईका अनुसार एक वर्षभित्र ११३.८९ किलोमिटर सडक कालोपत्र, १७५.४९ किलोमिटर ग्राभेल, १६.७१ किलोमिटर आरसीसी–पिसीसी ढलान तथा ४७.९६ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ ।
त्यस्तै, १८ वटा सडक पुल, १६ वटा झोलुङ्गे पुल र ११ वटा बहुवर्षीय सडक आयोजनामार्फत थप ११५.८९ किलोमिटर सडक निर्माण भएको छ ।
यस्तै, प्रदेश स्रोत र सङ्घीय सशर्त अनुदानबाट गरी कुल पाँच सय ३८ विपन्न नागरिकका लागि घर निर्माण सम्पन्न भएको छ । मन्त्रालयले १३ सरकारी भवन, ६९ सामुदायिक भवन, ११ सभा हल, ४० विद्यालय पूर्वाधार, २५ धार्मिक पूर्वाधार, ११ कभर्ड हल र १० वटा खेल मैदान निर्माण गरेको मन्त्री राईले बताए ।