बर्दिबास । महोत्तरी जिल्लाको बर्दिबासस्थित निगौल गाई गौशाला र गौशाला नगरपालिकाबिचको विवाद चर्किदैँ गएको छ । जग्गा भाडा, बजार सञ्चालन अधिकार र कर बक्यौता जस्ता विषयमा सहमति नहुँदा स्थिति प्रतिदिन तनावग्रस्त बन्दै गएको हो ।
विसं. १९८३ सालमा तत्कालीन श्री ३ सरकार र भारतका दरभङ्गा महाराजको सत्प्रयासमा स्थापना भएको ऐतिहासिक धरोहर निगौल गाई गौशाला चौतर्फी आक्रमणका कारण चरम आर्थिक सङ्कटमा छ । गोठाहरुले पारिश्रमिक पाएका छैनन् भने गाईहरु भोको मर्ने अवस्थामा छन् ।
गाई गौशालाको नाममा रहेको वडा नं ५ स्थित दुई बिघा १९ कट्ठा ११ धुर जग्गामा नगरपालिकाले चौपाया तथा माछामासु बजार सञ्चालन गर्दै आए पनि २०७० सालमा भएको सम्झौता बमोजिम बजार ठेक्काको २५ प्रतिशत रकम नबुझाउदा तनाव चर्कदै गएको हो ।
साउन ५ गते बजार ठेक्का उठाउने विषयमा भएको विवाद झडपमा परिणत हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएपछि स्थिति थप जटिल बन्दै गएको छ ।
घटनापछि नगरपालिकाले पत्रकार सम्मेलन गरी गाई गौशालामाथि नै घर कर, मालपोत तथा जग्गा करबापत तिर्नु पर्ने तीन करोड रुपियाँ बक्यौता रहेको दाबी ग¥यो ।
लगत्तै गाई गौशालाले सर्वदलीय बैठक राखी बजार ठेक्काबापत ०७१ सालदेखि करिव पाँच करोड रुपियाँ बक्यौता नतिरेर नगरपालिकाले ज्यादती गरेको आरोप लगायो ।
सर्वदलीय छलफलमा सहभागी पूर्व गाविस अध्यक्ष देवनारायण महतोले नगरपालिकाले बजारको ठेक्का लिए पनि गाई गौशालालाई सम्झौताअनुसार रकम बुझाउनु पर्ने धारणा राख्दै विगतमा पनि यस्तो अभ्यास हुँदै आएको जानकारी दिए । उनल भने ‘‘जग्गाधनीको अधिकार मिचेर गरिएको व्यवहार ‘मत्यस्य न्याय’ हो ।’’
सर्वदलीय बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका वरिष्ठ सहायक बुद्धिनारायण श्रेष्ठ, नेपाली कांग्रेसका योगेन्द्र यादव, जनमत पार्टीका विक्रम साह, लोकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र साह र स्थानीय बुद्धिजीवीहरूले गाई गौशालाको पक्षमा ऐक्यबद्धता जनाउँदै नगरपालिकाले बक्यौता रकम तुरुन्त बुझाउनुपर्ने आवश्यकता देखिएको छ ।
राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालन तथा व्यवस्थापनमा रहेको निगौल गाई गौशाला व्यवस्थापन कार्यालय गौशालाको नाममा रहेको महोत्तरी जिल्ला गौशाला नगरपालिका वार्ड नं. ५ कित्ता नं. ८२, ८३, ८४ को २ बिघा १९ कठ्ठा ११ धुर जग्गामा गौशाला नगरपालिकाको कार्यालयले गोरु तथा खसी बजार सञ्चालन गर्न ठेक्कामा लगाउने कार्य गर्दै आएको छ ।