नवलपुर । नवलपुर सदरमुकाम कावासोतीस्थित लोकाहा ओरालोमा सडक ढलान हस्तान्तरण नगर्दै भत्काइयो । गुणस्तर मापदण्डविपरीत सडक ढलान गरेको पुष्टि भएपछि हस्तान्तरण गरेर रकम बुफ्ने बेलामा सडक पूर्ण रूपमा भत्काइएको हो ।
यो सडक देवचुली र कावासोती नगरपालिका जोड्ने गौरवको आयोजनामा राखिएको चक्रपथ क्षेत्रभित्र पर्छ  । १३५ मिटर सडक ढलान गर्नका लागि काठमाडौँको पपुलर कन्स्ट्रक्सन प्रालिले ५० लाख रुपियाँमा ठेक्का लिएको थियो तर काम सकेर रकम बुझ्ने बेलामा प्रयोगशालामा सडकको गुणस्तर परीक्षण गर्दा पूर्णतः असफल भएको कावासोती नगरपालिका–१ का कार्यवाहक अध्यक्ष ओम थापामगरले जानकारी दिए ।
कावा अध्यक्ष मगरले भने, “यो सडक कात्तिकमा सम्झौता भएर चैत मसान्तभित्र सक्नुपर्ने थियो । समयमै काम पनि सकियो तर काम सकिएपछि परीक्षण गर्दा मापदण्डविपरीत निर्माण भएको पाइयो । त्यसैले पुनः सडक ढलान गर्ने गरी सोही कम्पनीलाई सोही रकममा असोज मसान्तसम्मको समय सीमा दिएर निर्माण गर्न भनेका छौँ ।”
कावासोती नगरपालिकाको पूर्वाधार विकास शाखाका इन्जिनियर रञ्जित केसीले प्रयोगशालामा ‘कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट’ गर्दा ‘स्ट्रेन्थ’ नपुगेर फेल भएको जानकारी दिए। उन्का अनुसार गिट्टी, बालुवा र सिमेन्टको मात्रा उचित रूपमा नमिलाई ढलान गरेकाले पूरै भत्काएर नयाँ बनाउन निर्देशन दिइएको छ ।
कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले उक्त ठेकेदार कम्पनीले धरौटी रकम बुझाएको र कुनै पनि पेस्की रकम नबुझेकाले थप निर्धारित समयमा गुनासोरहित सडक बनाउने सर्तमा उसैलाई नै जिम्मा दिइएको बताए । फेरि पनि यस्तै कमसल खालको काम गरेमा ठेकेदार कम्पनीको लाइसेन्स कालो सूचीमा राख्न सिफारिस गर्ने र धरौटी रकम रोक्का गर्नेसम्मको चेतावनी दिइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *