गौशाला । गौशाला नगरपालिका –५ मा गोरु तथा खसीबजारको ठेक्काको विषयलाई लिएर झडप हुँदा चार जना घाइते भएका छन् । झडपमा परी वडा २ का वडा अध्यक्ष श्यामकुमार मण्डलसंगै स्थानीय विपिन साह, विजय यादव र सुरेन्द्र महतो घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले बताएको छ ।

गोरु तथा खसीबजारमा दुई पक्ष गौशाला नगरपालिका र निगौल गाई गौशाला दुबैले ठेक्का लगाएको कारण ठेक्का वापतको राजस्व सङ्कलनको विषयमा विवाद उत्पन्न हुदॅा झडपको अवस्था सिर्जना भएको हो ।

गौशाला नगरपालिका र निगौल गाई गौशालाबिच पशुबजार ठेक्का तथा राजस्व सङ्कलन गर्ने विषयमा विवाद भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । निगौल गाई गौशालाले कर्मचारी खटाएर राजस्व सङ्कलन प्रक्रिया अगाडि बढाउँदा नगर प्रहरीले अवरोध गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

निगौल गाई गौशालाको कार्यालय र गौशाला नगरपालिकाको कार्यालयबिच २०७० मा गोरु र खसीबजार ठेक्काबापतको २५ प्रतिशत रकम निगौल गाई गौशालालाई उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार निगौल गाई गौशाला व्यवस्थापन कार्यालयले पटक–पटक लिखित तथा मौखिक रूपमा अनुरोध गरेको छ ।

तर गौशाला नगरपालिका कार्यालयले ठेक्काबापतको ५ करोडभन्दा बढी बाँकी रहेको रकम दिन नमानेपछि पशुबजार ठेक्का आफैं लगाउने प्रक्रिया अगाडि बढाउँदा नगरपालिकाले अवरोध गरेको निगौल गाई गौशालाको कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताए ।

राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालन तथा व्यवस्थापनमा रहेको निगौल गाई गौशाला व्यवस्थापन कार्यालय गौशालाको नाममा रहेको महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा नं. ५ कित्ता नं. ८२, ८३, ८४ को २ बिघा १९ कठ्ठा ११ धुर जग्गामा गौशाला नगरपालिकाको कार्यालयले गोरु तथा खसी बजार सञ्चालन गर्न ठेक्कामा लगाउने कार्य गर्दैआएको छ । पशुहाट लगाइने ठेक्काबाट २५ प्रतिशत रकम नगरपालिकाले गाई गौशालालाई दिने सहमति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *