खोटाङ । बाँससम्बन्धी सरकारले नीतिगत निर्णय गर्नुपर्ने माग राख्दै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई काठमाडौँ आउका छन् । सिंहदरबार अगाडि भोक हड्ताल गर्ने घोषणा गर्दै प्रमुख भट्टराई बाँस र बाँसबाट निर्माण भएका सामग्री लिएर आइतबार काठमाडौँ आएका हुन् ।
नगरप्रमुख भट्टराईले बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई सदुपयोग गरेर आम्दानी लिने वातावरण निर्माणको माग राख्दै आयरहेका थिए । आर्थिक समृद्धिका लागि बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई प्रयोग गर्ने नीतिगत व्यवस्थाको माग गर्दै मेयर भट्टराईले काठमाडौं पुगेर साउन ११ गतेदेखि भोक हड्ताल गर्ने घोषणा गरेको हो । जसको लागि साउन ४ गते बाँस, बाँसबाट निर्माण भएका विभिन्न सामग्री, परालबाट निर्माण भएको गुन्द्री, राडी लगायतका सामग्री लिएर मेयर भट्टराई काठमाडौँ आएका हुन् ।
साउन ११ गते माइतीघर मण्डलामा भोक हड्ताल गर्ने नगरप्रमुख भट्टराईको तयारी छ। तीन दिनसम्म दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भोक हड्तालमा बस्दा पनि माग सुनुवाइ नभए साउन १४ गते बिहान ९ बजेदेखि आमरण अनशन बस्ने उनको तयारी रहेको छ । बाँसको महत्त्वलाई उजागर गर्नका लागि नगरपालिकाले गत २०८१ फागुन १५ गतेदेखि फागुन १७ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गरेको थियो ।