इटहरी उपमहानगरपालिका । इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन नसकेपछि नगरसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ ।

बजेटका विषयमा सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुट्न नसक्दा १६ औँ नगरसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो।

नगरप्रमुख हेमकर्ण पौडेलले नेकपा एमालेका कारण बजेट पारित हुन नसकेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘नेकपा एमालेका नेताहरूले मागेको बजेट दिन नसक्दा बहुमतको आडमा नगरसभा स्थगित गरियो, इटहरीवासी बजेटबाट विमुख भए।’

यता फेरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पक्षले भने नगरप्रमुख पौडेलले प्रक्रिया मिचेर एकलौटी ढंगले बजेट पारित गर्न खोजेको आरोप लगाउदै अर्थ विधेयक, विनियोजन विधेयक र राजस्वको दररेटजस्ता महत्त्वपूर्ण कागजात उपलब्ध नगराई बजेट पास गर्न खोजिएको बताइन् ।

यसअघि, उपप्रमुख चौधरीले गत असार १० गते आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कुल दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन्।

प्रस्तावित बजेटमा चालुतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार (४०.७९ प्रतिशत), वित्तीय व्यवस्थापनतर्फ ९० लाख (०.३५ प्रतिशत) र पुँजीगततर्फ एक अर्ब ५० करोड १९ लाख ९० हजार (५८.८६ प्रतिशत) रुपैयाँ विनियोजन गरिएको थियो।

बजेट पारित नहुँदा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षका विकास निर्माण र प्रशासनिक कार्य प्रभावित हुने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *