चन्द्रागिरि नगरपालिका । वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका छन् । यस वर्षको वर्षामा चन्द्रागिरि १, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हो ।
यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा यसपटक पहिरो गई जनधनको क्षति हुने देखिएको नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले बताए । उच्च जोखिम मानिएका तीन वटा वडामध्ये वडा नं २ बढी उच्च जोखिममा छ।गत वर्ष सोही स्थानमा पहिराका कारण घरहरू पुरिनुका साथै दुई जनाको मृत्युसमेत भएको थियो।
“नगरका दुई सय स्थानमा पहिरो रोकथामका लागि प्लाष्टिक पठाइएको छ”, अर्यालले भने। वडा नं १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको छ ।
त्यस्तै, वडा नं ५ स्थित राधाकृष्ण टोलमा झण्डै १०० मिटर बाटोको भाग खोलामा खसेको छ। नजिकै कर्बड हल बनाउँदा माटो खोस्रिएका कारण त्यहाँ पहिरो गएको स्थानीयले बताएका छन् ।
वडा नं ९ स्थित शान्ति स्तूपाका कारण कीर्तिपुर नगरपालिकातर्फ गएको पहिरोको हालसम्म पनि व्यवस्थापन भएको छैन । जोखिम न्यूनीकरणका प्रारम्भिक काम भए पनि दीर्घकालीन समाधानका लागि बायो इञ्जिनियर गर्नुपर्ने भएकाले केही समय लाग्ने अर्यालले बताए । वडा नं ८ का केही भाग पनि पहिराको उच्च जोखिममा रहेका बताए ।