इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले सामाजिक सञ्जालमार्फत पत्रकारिता क्षेत्रप्रति दिएको अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासङ्घ, सुनसरीले आपत्ति जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
मेयर पौडेलले असार २० गते दिएको अपमानजनक अभिव्यक्ति पछि चार दिन बितिसक्दा समेत क्षमा याचना नगरेको भन्दै महासङ्घले गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ । २४ गते महासङ्घको कार्यसमिति बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासङ्घका पूर्व अध्यक्षहरू, पेसागत सङ्घ–संस्थाका प्रतिनिधिहरू, सल्लाहकारहरू तथा पदाधिकारीहरूको उपस्थितिमा बसेको उक्त बैठकले मेयरको अभिव्यक्ति पदीय मर्यादा विपरीत र प्रेस स्वतन्त्रताको स्पष्ट उल्लङ्घन भएको निष्कर्ष निकालेको थियो ।
महासङ्घले मेयरको अभिव्यक्तिप्रति घोर भत्र्सना गर्दै यथार्थ पुष्टि गर्न मेयर पौडेललाई चेतावनीसमेत दिएको छ
सोही क्रममा बुधवार मेयर हेम कर्ण पौडेललाई ज्ञापन पत्र बुझाउँदै आफ्ना गलत अभिव्यक्ति फिर्ता लिन दबाब दिएको छ । बिहीबार इटहरीमा कार्यरत अग्रज तथा क्रियाशील पत्रकारहरूको भेला आयोजना गरिने, इटहरीका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक वर्ग तथा सरोकारवाला निकायहरूसँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवाद गरिने महासङ्घको विरोध कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, सूचनाको हक प्रयोग गरी उपमहानगरपालिकासँग सम्बन्धित विविध सूचनाहरू माग गर्न आह्वान गरिने पनि महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महासङ्घका सचिव विनय बाह्रकोटीले हस्ताक्षर गरी सार्वजनिक भएको विज्ञप्तिमा महासङ्घले पत्रकारिताको गरिमा रक्षा गर्न कुनै पनि प्रकारको दबाब र हस्तक्षेप नस्विकारिने स्पष्ट पारेको छ ।