ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मनसुनजन्य विपद् पूर्व सतर्कता अपनाउन जिल्लास्थित सम्पूर्ण नागरिकहरूलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् विपद् सम्पर्क व्यक्ति सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले एक सार्वजनिक सूचना आह्वान गर्दै ताप्लेजुङ र भिरालो धरातल रहेको र मनसुनका बेला यस्ता स्थानहरूमा जोखिमको ठूलो सम्भावना हुने भएकोले सतर्क र संवेदनशील रहन आग्रह गरेकी छन् ।
खड्काले जारी गरेको सचेतनामूलक सूचनामा तमोर, काबेली, मेवाखोला,जस्ता खोला तथा नदीहरूमा कुनैपनि समयमा बाढी आउन सक्ने तथा राजमार्ग र गाउँबस्ति क्षेत्रहरूमा पहिरोको जोखिम समेत हुने भएकोले सम्भावित जोखिम क्षेत्रमा नागरिकले सचेतना अपाउनुपर्ने भनिएको छ ।
खड्काले जारी गरेको सूचनामा नदी किनारमा रहेका बस्तीका नागरिकले बर्षायामभर उच्च सर्तकर्ता अपनाउन, वर्षा निरन्तर भइरहेको समयमा सवारी साधन सञ्चालन नगर्न तथा अत्यावश्यक काम बाहेक आवतजावत नगर्न आग्रह गरिएको छ । कुनैपनि बहानामा खोला तथा नदीमा नपस्न, रातिको समयमा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन नगर्न तथा नगराउन,सवारी साधन सञ्चालन गर्दा गन्तव्य स्थान र रुटबारे पूर्ण रुपमा जानकारी लिएर जानकारी लिएर मात्र यात्रा सुरु गर्न, घर बाहिर निस्कँदा आफ्नो गन्तव्य बारे जानकारी दिएर मात्र यात्रा सुरु गर्न,वनजंगल तथा लामो दुरीको एकल यात्रा नगर्न प्रशासन कार्यालयले सर्वसाधारणलाई अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले जलाशय तथा अर्ध जलाशययुक्त जलविद्युत सञ्चालन गरिरहेका सञ्चालकलाईहरुपनि बिना सूचना एक्कासि जलाशयबाट पानी नछाड्न तथा कुनै विपद्जन्य घटना वा असामान्य जानकारी आएमा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन सर्वसाधारणमा अपिल गरेको छ ।