काठमाडौँ । मनसुन सुरु भएसँगै मनसुनजन्य रोगहरूको जोखिम हुन्छ । यो मौसममा हुने रोगको जोखिम रोक्ने उद्देश्यले काठमाडौँ महानगरले सबै वडामा भेला राखेको छ ।शुक्रवार ३२ वटै वडाका जनप्रतिनिधि, युवा क्लब, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधिहरू सहित भेला राखेको हो ।
भेलामा उनीहरु बिचमा यो मनसुनमा फैलिने रोगहरू डेंगी, झाडापखाला र हैजाको नियन्त्रण गर्न उपाय र कार्यक्रमको बारेमा छलफल तथा जानकारी दिने काम भएको महानगरका स्वास्थ्य इन्चार्ज दिपक केसीले बताएका छन् ।
‘ एकै दिन ३२ वडामा यस्तो भेला सम्पन्न गरेका हौ’ भन्दै भेलामा उपस्थित प्रतिनिधि मार्फत टोल टोलमा यी रोगको विषयमा थप छलफल हुने, जानकारी दिने गतिविधि सञ्चालन हुने केसीले बताए ।
यसको साथै यो वर्ष पनि उच्च जोखिम रहेको डेंगी संक्रमणको विषयलाई प्राथमिकताका साथ कार्य योजना निर्माण गरेको केसीले बताए । ’डेंगी नियन्त्रणको लागि कार्य योजना बनाएर सबै वडामा पठाइसकेका छौ, केही दिनदेखि नै टोल–टोलमा सर्च एण्ड डेस्ट्रोय अभियान सुरु हुन्छ’ उनले भने ।
हैजा र झाडापखाला, आउँ र टाइफाइड जस्ता पानीजन्य रोगबाट बच्नको लागि सुरक्षित पानी र खानामा ध्यान दिने जानकारी दिइसकेको र यसको निरन्तरता हुने उनले बताए ।