शिक्षामा घोडाघोडी नगरपालिका : उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

  • प्रकाशित मिति : July 2, 2025
  • sthaniyasarkar.com

घोडाघोडीे । कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाले शैक्षिक सत्र ०८१÷०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । बुधबार नगरपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा नगरपालिका भित्र कक्षा आठ र माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयका प्रधानध्यापकलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।
सम्मानित हुनेमा संस्थागततर्फ पायोनियर स्कलर्स एकेडेमि, पिसलाईट ईङलिस बोर्डिङ स्कुल रहेका छन् भने सामुदायिक विद्यालय तर्फ जनज्योती माध्यामिक विद्यालय र छडी माध्यामिक विद्यालय रहेका छन् ।
छडी र पिसलाईट विद्यालयले कक्षा आठमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो भने जनज्योती र पायोनियरले एसइईमा उत्कृष्ट नतिजा ल्याएको छ ।
पायोनियर विद्यालयमा २८ जनाले एसइई दिएकोमा २७ जना पास भएका छन् । जसमध्ये आठ जना ए प्लस, ११ जना ए ग्रेड ल्याउन सफल भएको विद्यालयका प्रधानध्यापक कुलप्रसाद भट्टले बताए । उक्त विद्यालयबाट रक्षा बुढाले चार जिपीए ल्याई नेपालमै उत्कृष्टको लिष्टमा पर्न सफल भएका थिए ।
त्यसैगरी ५१ वटा सामुदायिक विद्यालय रहेको घोडाघोडी नगरमा जनज्योती माध्यामिक विद्यालय जनकपुरले ७६ प्रतिशत नतिजासहित एसइई नतिजामा उत्कृष्ट विद्यालयको रुपमा रहेको छ । उक्त विद्यालयमा ५१ जना एसइई परिक्षा दिएकामध्ये ४१ जना पास भएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरशिक्षा समितिका पदाधिकारी, अभिभावक, विद्यार्थी, प्रधानध्यापक, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।