काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरेको छ । महाशाखाले असार १४ गतेदेखि १६ गते कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा धेरै भारी पानी परेको भन्दै सतर्कता अपनाउन आव्हान गरेको थियो ।
मौसमविद् गोविन्द झाका अनुसार मनसुन सक्रिय रहेको तथा मनसुन रेखा पश्चिम नेपालको उत्तरतर्फ रहेकोले सुदूरपश्चिम क्षेत्रको तराई र पहाडमा धेरै वर्षा भएको बताए ।
झाले भन्नुभयो, “सुदूरपश्चिमतिर, तराई, पहाडमा धेरै भारी वर्षा भएको छ । हामीले विशेष बुलेटिन पनि जारी गरेका थियौं । यसको मुख्य कारण भनेको मनसुनको न्युन चापीयरेखा सरदरभन्दा उत्तरतर्फ बढेकोले गर्दा हो ।”
उहाँले सो क्षेत्रमा मङ्गलबारदेखि भारी वर्षा हुने क्रम कम हुँदै जाने बताए ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् प्रवक्ता सुरेश सुनारका अनुसार मौसम पुर्वानुमान महाशाखाले गरेको पुर्वानुमानका आधारमा सम्बन्धित निकाय, सरकारका सबै पक्ष र सर्वसाधारणमा जानकारीका लागि विभिन्न माध्यमबाट पूर्व सुचना र पूर्व चेतावनीका सन्देश सम्प्रेषण भइरहेको छ ।
प्रवक्ता सुनारले भने, “विशेष गरेर हाम्रो च्यानलहरू प्रयोग गरेका छौं । सुरक्षा निकायसँग कमान्ड पोस्ट गठन भएको छ । त्यो कमान्ड पोस्टबाट सर्कुलर जारी भएको छ ।”
उनका अनुसार आवश्यक तयारीका लागि स्वयंसेवक परिचालन एवम् सतर्कता र तयारी अवस्थामा रहनका लागि पूर्व जानकारी गराइएको छ ।
उनले भने, “हामीले आवश्यक तयारी गर्न भनेर स्वयंसेवकलाई पनि परिचालन गर्ने सन्दर्भमा अलर्ट हुने र तयारी अवस्थामा बस्ने भनेर पहिले नै जानकारी गराएका थियौं । साथै, सर्वसाधारण नागरिकका लागि सार्वजनिक अपिल जारी गरेका छौं । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, यात्रा नगर्न, डुबान हुने क्षेत्र नदी, किनारमा जोखिमका काम कारबाही नगर्न आग्रह गरिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *