काठमाडौँ। बर्खायाम सुरु भए लगतै नेपाली मनमा पनि डरको चिसो पस्न थाल्छ । हरेक वर्ष मौसमी विपद् बाट ज्यान गुमाउने घाइते हुनेको संख्या अगन्य हुने गरेको पाइन्छ । यस वर्षपनि बर्खायाम सुरु भएलगतै यसको विपत्तिको असर देखा पर्न थालिसकेको छ। गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ । समीक्षा अवधिमा एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन् । पहिरोबाट दुई करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चार जना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् । चार वटा घरमा क्षति भएको छ । चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । विपद्का घटनामा रु २६ करोडको आर्थिक क्षति भएको छ ।