प्रतिपक्षको विरोधपछि आधा घण्टा लुम्बिनी प्रदेशसभाकाे बैठक स्थगित

  • प्रकाशित मिति : July 1, 2025
  • sthaniyasarkar.com

दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनअन्तर्गत चौधौँ बैठक आधा घण्टाका लागि स्थगित भएको छ। बैठक सुरु भएलगत्तै प्रतिपक्षमा रहेका दलहरूले उठेर बजेटप्रति विमति जनाएका थिए।
बजेट सच्याइनुपर्ने माग राख्दै माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले बैठक स्थगित गर्न माग गरेका थिए। उठेर विरोध जारी राखेपछि सभामुख तुलाराम घर्ती मगरले राजनीतिक समझदारीका लागि आधा घण्टाका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्।
बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८२÷०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्ने कार्यक्रम थियो। सोहीअनुसार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले ‘आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यक्रम तय गरिएको थियो।
यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो। त्यसयता बजेट प्रस्तुत भएको १७ औँ दिनमा बैठक बसेको हो। यसअघिको बैठक असार ७ गतेका लागि निर्धारण गरिएको भए पनि विविध कारणले स्थगित गरिएको थियो।