कञ्चनपुर । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थान डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा गरी सोमबार साँझसम्म १५ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।
वर्षापछि आएको बाढीले जिल्लाको कृष्णपुर नगरपालिका ५ र ७ मा केही परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो कृष्णपुर नगरपालिका–५ स्थित स्थानीय आरती विकको परिवारलाई सुरक्षित स्थानमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले जानकारी दिए।
बाढीका कारण उहाँको घर डुबानमा परेपछि आरतीसहित ४ जना परिवारका सदस्यहरूलाई नजिकैको पवित्र आधारभूत विद्यालयमा सारिएको डिएसपी बोहराले बताए ।
यस्तै, कृष्णपुर नगरपालिका ७ का ७३ वर्षीया कमला पार्की र उहाँका १४ वर्षीय नातिनी आशा पार्कीलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।
भीमदत्त नगरपालिका–वेदकोट सीमानाका पाँच घरमा र पुर्नवास नगरपालिकामा सात घरमा बाढी पसेको प्रहरीले जनाएको छ । बाढीले घर डुबानमा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । पानी निकास हुन नपाउँदा जिल्लामा अत्यधिक बस्ती डुवानमा परेको जनाइएको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो भीमदत्त नगरपालिका १९ त्रिवेणी टोल बस्ने कलावती जोशीको कच्चीघरमा पानी पसेको छ । जोशीको घर डुवानमा परेपछि पाँच जना परिवारका सदस्यलाई नजिकैको सिद्धनाथ आधारभुत विद्यालयमा लगिएको डिएसपी बोहराले जानकारी दिए। डुबानका कारण जोशीले पालेका ५ बाख्रा, २ गाइ, १ भैसी, विस्तापित भइ सुरक्षित स्थानमा सारीएको जनाइएको छ ।
लगातारको वर्षाका कारण जिल्लाको बेलौरीका शान्तिपुर, कलकत्ता, शिव नगर, खल्ला कुण्डा लगायतका क्षेत्र प्रभावित बनेका छन् ।
महाकाली बेसिन कार्यालयका प्रमुख संजयकुमार शाहका अनुसार आइतबार रातिदेखि बेलौरीमा २ सय ४९ मिलिमिटर वर्षा मापन गरिएको छ । भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन महाकाली बेसिन कार्यालय अत्तरियाले आग्रह गरेको छ । अत्यधिक वर्षाका कारण होचा स्थानमा बनेका घरहरूमा डुबानको जोखिम बढेको छ । महाकाली नदीमा पानीको बहाव खतरा तहभन्दा तल ६५ हजार चार सय ९० क्युसेक रहेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार एक सूचना जारी गर्दे असार १७ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएकाले जिल्लाका नदी तटीय क्षेत्रका बसोवासीहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।