विराटनगर। कोशी प्रदेशमा यस वर्षको असार दोस्रो सातासम्म १४.२५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। अघिल्लो वर्ष यही अवधिमा १३.७१ प्रतिशत रोपाइँ भएको थियो।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यो तथ्यांक सार्वजनिक गर्दै समग्र रूपमा रोपाइँको स्थिति सकारात्मक रहेको जनाएको छ।
मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार कोशी प्रदेशमा कुल ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमिनमध्ये हालसम्म ३९ हजार ३ सय ८७ दशमलव २६ हेक्टरमा रोपाइँ भइसकेको छ।
खासगरी पहाडी जिल्लाहरूमा समयमै रोपाइँ हुने गरेकोमा यसपटक वर्षा अभावले केही ढिलाइ भएको पाण्डेको भनाइ छ।
‘उच्च पहाडमा यो समयसम्म आधा रोपाइँ भइसकेको हुनुपर्थ्यो,’ उनले भने, ‘तर, कतिपय ठाउँमा पानीको समस्या देखिएकाले रोपाइँको गति सामान्यभन्दा सुस्त छ।’
यद्यपि, यो वर्ष विगतका वर्षहरूको तुलनामा बढी वर्षा हुने प्रक्षेपण रहेकाले समग्र रोपाइँमा असर नपर्ने र बढी रोपाइँ हुने अनुमान रहेको डा. पाण्डेले बताए। उनले पहाडको भौगोलिक अवस्था र चिसो मौसमका कारण त्यहाँ छिटो रोपाइँ हुने गरेको उल्लेख गरे।
उच्च पहाडमा असार अन्तिमसम्म र तराईमा भने भदौ दोस्रो सातासम्म रोपाइँ गर्न सकिने जानकारी उनले दिए।
मन्त्रालयका अनुसार जिल्लागत रूपमा ताप्लेजुङमा १७.८५, पाँचथरमा ४५, इलाममा १२, भोजपुरमा ४२, सोलुखुम्बुमा ६.३१, संखुवासभा र धनकुटामा ७–७, तेह्रथुममा २६, उदयपुरमा ११, ओखलढुंगामा ३१ र खोटाङमा ३१.३० प्रतिशत रोपाइँ भइसकेको छ। तराईका जिल्लामध्ये झापामा ८, सुनसरीमा ९ र मोरङमा १५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
मन्त्रालयले रोपाइँका लागि रासायनिक मलको पर्याप्त आपूर्ति भएको जनाएको छ। ‘मल र पानीको अभावका कारण रोपाइँ रोकिएको छैन,’ डा. पाण्डेले स्पष्ट पारे। उनका अनुसार कतिपय स्थानमा बर्खे धान थन्क्याउने बेला भएको छ। धान थन्क्याएपछि पुनः रोपाइँ गरिने छ।
यस वर्ष पर्याप्त वर्षा र मल आपूर्तिका कारण उत्पादनमा सुधार आउने अपेक्षा गरिएको डा. पाण्डेको भनाइ छ। तर, पहाडी जिल्लामा समयमै पानी नपरे त्यसले समग्र उत्पादनमा प्रभाव पार्न सक्ने बताइएको छ।