स्याङ्जा ।  स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले दुइ भन्दा बढी  तीन सन्तान जन्माउनेलाई प्रोत्साहन गर्ने भएको छ।

दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई बालबालिकाको पालनपोषणमा सहयोग उपलब्ध गराइने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।

पछिल्लो समयमा गाउँपालिकामा जनसंख्या घट्दै गएको छ। गाउँपालिकाको ऋणात्मक जनसंख्या वृद्धिदरले आगामी ३० वर्षमा कालीगण्डकी गाउँपालिकाको जनसंख्या १७ हजार ९ सयबाट घटेर ५ हजारमा झर्ने प्रक्षेपण गरिएको उनले बताए।

सक्रिय उमेर समूहको जनसंख्या हालको अनुपातमा कायम राख्न २ भन्दा बढी सन्तान जन्माउनुपर्ने आवश्यकता देखिन्छ। दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई आगामी आर्थिक वर्षदेखि सहयोग गरिने छ। बालबालिकाको पालनपोषणमा सहयोग गरी प्रोत्साहन गरिने थापाले बताए।

आर्थिक वर्ष २०८२/०८३ लागि १० लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष साबीत्रा कोइरालाले बताइन्। गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरेर नै धेरै सन्तान जन्माउनेलाई प्रोत्साहन गर्न बजेटको व्यवस्था गरिएको उनले बताइन्।

बाँझो जमिन राख्नेलाई जरिवाना

अबदेखि कालीगण्डकी गाउँपालिका भित्रका कुनै जमिन बाँझो राख्न पाइने छैन्। यदि कसैले बाँझो राखेमा जरिवाना तिनुपर्ने गाउँपालिकाले नीति लिएको छ। खेतीयोग्य कुनैपनि जमिन बाँझो राख्नेलाई गाउँपालिकालाई जरिवाना तिर्नुपर्ने छ। जरिवानावापत आउने रकमलाई राजस्वको रूपमा संकलन गरिने छ। व्यक्तिगत वा सामूहिक खेती गर्न चाहने किसानलाई गाउँपालिकाले उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्नेछ।

खेती गर्न नसक्ने किसानको जमिन गाउँपालिकाले भाडामा लिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। ‘आफैले खेती गर्नुपर्छ। होइन भने गाउँपालिकालाई दिनुपर्छ’ उनले भने ‘जमिन बाँझो राख्न पाइँदैन। बाँझो राखेको पाइएमा जरिवाना तिर्नुपर्छ।’ गाउँपालिकाले भूमि बैंक सञ्चालन गर्ने छ। खेतीयोग्य जमिनलाई बाँझो राख्ने कार्यलाई निरुत्साहन गर्न सामूहिक खेती तथा भूमि बैंक कार्यक्रम सञ्चालन गर्न लागेको थापाले बताए।

स्थानीय सरकारले तय गरेको मूल्यमा जमिन भाडामा लिनेछ। भडामा लिएको जमिन काम गर्ने किसानलाई नि:शुल्क उपलब्ध गराइने छ। बाँकी जमिनमा गाउँपालिका आफैँले व्यावसायिक खेती गर्नेछ। यसरी भाडामा लिएका जमिनमा खेती गर्न गाउँपालिका भित्रकै युवा परिचालन गरिनेछ। उनीहरूलाई रोजगार मिल्नेछ। गाउँपालिकालाई आन्तरिक राजस्व वृद्धिमा टेवा पुग्ने थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *