धादिङबेसी। धादिङको नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ गरेको छ । युवाको सीप विकास, तालिम र रोजगारीका अवसर प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।
मेला नीलकण्ठ वालमन्दिर माध्यामिक विद्यालयको प्राङ्गण गरिएको हो । रोजगार मेलाको उद्धघाटन गर्नुहुँदै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई उद्यमशिलताको हव बनाउने बताउनुभएको छ । उहाँले सिपलाइ उधमशिलता, उत्पादन र श्रमसँग जोड्दै नगरपालिकाले युवा लक्ष्यित कार्यक्रम गरेको बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाको युवासँग उप–प्रमुख कार्यक्रम अन्र्तगत ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ आयोजना गरिएको हो । युवाहरूलाई ब्यबायसायमा आकर्षण गर्नेगरी नगरभित्रका विभिन्न उत्पादन तथा रोजगार सृजना गर्न मेला आयोजना गरिएको उपप्रमुख विश्वकर्माले बताए ।
गत वर्ष ६ सय ७५ जनालाई तालिम दिएको र उनीहरुलाइ रोजगारमा जोड्दै ल्याएको नगरपालिकाले बताएको छ ।
मेलामा स्थानीय उत्पादन र हस्तकलाका सामग्रीको आकर्षक प्रदर्शनी गरेका थिए । सीप सिकेर स्वरोजगारमा लागेका युवाहरूले आफैंले बनाएका सामग्रीहरू ढाकाका पछ्यौरी, टोपी, बुटिक, ढाका झोला, सजावटी सामाग्री, बासको टोकरी, अचार, हस्तनिर्मित सौन्दर्य सामग्री, बुटिक कपडा तथा विभिन्न हस्तकलाका सामाग्रीहरु प्रदर्शनी तथा विक्रिका लागि राखिएको थियो ।
युवाहरूलाई भविष्यका लागि उपयुक्त तालिम कुन हो भनेर बुझ्न के सिक्न चाहनुहुन्छ? भन्ने शीर्षकमा विशेष फर्म भरिएको छ । जसमा सयौं युवाहरूले सीप, तालिम तथा रोजगारप्रति आफ्नो रुचि र आवश्यकता उल्लेख गरेका छन् । संकलित विवरण नगरपालिकाको भविष्य नीति तथा तालिम योजना निर्माणमा उपयोग गरिने बताइएको छ ।
युवालाई विभिन्न तालिममा सहभागी गराइ आय आर्जनमा आकर्षित गर्न मोटिभेसनल कक्षा र विभिन्न बवषयका विज्ञहरू सङ्ग प्यानल डिस्कसन समेत गरिएको छ । मेलामा करिब २५ वटा स्टलहरू राखिएका छन् ।