नवलपुर। कावासोतीका स्थानीयले विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रको कार्यालयमा धर्ना तथा घेराउ गरेका छन् ।अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भइरहेका बेला कावासोतीमा साँझ तथा रातको समयमा दैनिकजसो पटकपटक विद्युत् सेवा अवरुद्ध हुन थालेको भन्दै स्थानीय उपभोक्ताले बुधवार राति नारावाजीसहित कार्यालय घेराउ गरेका हुन् ।
मङ्गलबारदेखि नवलपुरमा अत्यधिक गर्मी बढेको छ भने लाइन पनि पटक पटक काटिने गरेको छ । यहाँ अहिले न्यूनतम तापक्रम २९ डिग्री र अधिकतम तापक्रम ३९ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ ।
मङ्गलबार साँझदेखि राति ११ बजेसम्म १८ पटकसम्म लाइन काटिएको स्थानीय उपभोक्ता रामकुमार श्रेष्ठले गुनासो गरे। श्रेष्ठले बुधबार साँझदेखि राति १० बजेसम्म १२ पटक झ्यापझ्याप बिजुली काटिएको बताए ।
लाइन आउन नपाई काटिने समस्याले आफूहरु दिक्क भएकोले कार्यालय घेराउ गर्नुपरेको अर्का स्थानीय अनमोल थापा मगरले बताए । उनीरुले बुधवार राति १० देखि ११ बजेसम्म कार्यालयमा नारा जुलुससहित घेराउ गरेका थिए ।
तर प्राधिकरणले भने बिहीवार बेलुकादेखि समस्यामा कमी आउने दाबी गरेको छ । प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख सूर्य मण्डलले बिहीवार साँझदखि समस्यामा कमी आउने बताए।
लाइनमा समस्या आएकोले पत्ता लगाउने क्रममा बिजुली आउने जाने समस्या भइरहेको मण्डलको भनाइ छ । ३५ मेघावाटसम्म लोड भएको र कावासोतीमा यो अहिलेसम्मकै बढी रहेको मण्डलले बताए ।