गुल्मी। सङ्घीय सरकारबाट आगामी आर्थिक वर्षका लागि गुल्मीका स्थानीय तहलाई पाँच अर्बभन्दा बढी बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहलाई पाँच अर्ब एक करोड ५३ लाख रुपियाँ बजेट विनियोजन भएको पाइएको हो ।
चालू आर्थिक वर्ष २०८१÷०८२ को बजेटको तुलनामा ३१ करोड २६ लाख रुपियाँले बजेटभन्दा बढी बजेट आउने भएको छ । जिल्लाका स्थानीय तहहरुले न्यूनतम, सुत्र र कार्यसम्पादनमा आधारित कूल एक अर्ब ११ करोड ३० लाख रुपियाँ समानीकरण अनुदान प्राप्त गर्ने छन् । चालु र पुँजीगत प्रकृतिको आधारमा कुल तीन अर्ब ५६ करोड ७४ लाख रुपियाँ सशर्त अनुदान, १७ करोड ३८ लाख रुपियाँ विशेष अनुदान र पुँजीगत प्रकृतिको आधारमा १६ करोड ११ लाख रुपियाँ समपुरक अनुदान प्राप्त गर्ने भएका छन् ।
चालू आर्थिक वर्षमा यस जिल्लाका स्थानीय तहलाई चार अर्ब ७० करोड २७ लाख रुपियाँ बजेट विनियोजन भएको थियो । जसमा एक अर्ब १३ करोड ३७ लाख रुपियाँ समानीकरण, तीन अर्ब २८ करोड ६० लाख रुपियाँ सशर्त अनुदान, १४ करोड ५५ लाख रुपियाँ विशेष र १३ करोड ७५ लाख रुपियाँ समपुरक अनुदान विनियोजन भएको थियो ।
आगामी आव २०८२/०८३ का लागि यस जिल्लाका दुई नगरपालिकाले ९५ करोड ७४ लाख रुपियाँ बजेट अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्राप्त गर्ने उल्लेख छ ।
यस जिल्लाका दस गाउँपालिकाले चार अर्ब पाँच करोड ७९ लाख रुपियाँ प्राप्त गर्ने अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरणको विवरणमा उल्लेख छ ।
मुसिकोट नगरपालिका- ५० करोड ४३ लाख रुपियाँ
रेसुङ्गा नगरपालिका- ४५ करोड ३१ लाख रुपियाँ
मालिका गाउँपालिका- ४६ करोड ४० लाख रुपियाँ
धुर्कोट गाउँपालिका- ४५ करोड ५३ लाख रुपियाँ
छत्रकोट गाउँपालिका- ४२ करोड ७२ लाख रुपियाँ
सत्यवती गाउँपालिका- ४२ करोड आठ लाख रुपियाँ
रुरुक्षेत्र गाउँपालिका- ४० करोड ५० लाख रुपियाँ
मदाने गाउँपालिका- ४० करोड तीन लाख रुपियाँ
गुल्मीदरबार गाउँपालिका- ३८ करोड ५३ लाख रुपियाँ
चन्द्रकोट गाउँपालिका- ३८ करोड ४६ लाख रुपियाँ
कालीगण्डकी गाउँपालिका-३८ करोड ४४ लाख रुपियाँ
इस्मा गाउँपालिका-३३ करोड १० लाख रुपियाँ