सर्लाही। सर्लाहीको चुरेवर्ती क्षेत्रका करिब ७०० घरधुरीमा बिजुली पुग्न अझै बाँकी छ । भौगोलिक हिसाबले विकट चुरेपाखाका अहिले पनि सोलार र टुकी बत्तीको भरमा छन् । नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रका अनुसार लालबन्दी नगरपालिकाको वडा नं. १३, १४ र १५ मा मात्र ६१० घरधुरीमा बिजुली बत्ती पुगेको छैन ।
लालबन्दी नगरपालिका कार्यालयले लालबन्दी १३ मा ३५ घरधुरी, लालबन्दी १४ मा ३७५ घरधुरी र लालबन्दी १५ मा २०० घरधुरीमा विद्युतीकरणको माग गरेको छ । ती ठाउँमा बिजुली पु¥याइदिन माग गर्दै गएको चैतमा नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रमा पत्र बुझाएको थियो ।
लालबन्दी १४ नारायणखोलामा ७७५ घरधुरीमध्ये अझै ३७५ घरधुरीमा बिजुली पुग्न बाँकी रहेको नगरपालिका कार्यालयले जनाएको छ । चुरेको ठुलो भू–भाग पर्ने नारायणखोलामा डाइनी खोला, मगनी खोला, पन्ध्र बिघा, होमाने डाँडा, सतास, मटरखोला शिर, कामिटार शिर, लखन्देही शिरलगायत दुई दर्जन बढी बस्तीमा बिजुली पुग्न बाँकी रहेको वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिए ।
वडाभित्र ७७५ घरधुरीमध्ये अहिलेसम्म ४०० घरधुरीमा मात्रै बिजुली पुगेको र बाँकी घरधुरीका स्थानीय सोलार तथा टुकी बत्तीको भरमा बसिरहेको वडाध्यक्ष घिसिङले बताए । “भौगोलिक हिसाबले सारै दुर्गम ठाउँ छ, त्यहीँमाथि बिजुली बत्तीधरी नहुँदा स्थानीय एक शताब्दी अघिका पुस्ताकै झैँ जीवनयापन गर्न बाध्य छन्,” वडाध्यक्ष घिसिङले भने, “बिजुली मात्रै पु¥याउन पाए स्थानीयको दैनिकी सहज हुन्थ्यो ।”

लालबन्दी १५ का वडाध्यक्ष गोरखबहादुर बलले आफ्नो वडाको बाहुने डाँडा, धुनधुने, फलाके, बाघ दमार, माझ खोला, ढाप खर्क, डालो पाखा, सानो फूलजोरलगायत एक दर्जन पाखाका बस्तीमा बिजुली पुग्न बाँकी रहेको जानकारी दिनुभयो । यस्तै बागमती नगरपालिका–१, मा वाइवा डाँडा, ह¥याम झ्याल र पिपल डाँडामा बिजुली पुग्न बाँकी रहेको वडा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *