विराटनगर । स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुका राष्ट्रिय सम्मेलन आजबाट विराटनगरमा सुरु भएको छ । दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको छन् ।
स्थानीय तहहरुमा प्रमुखहरुसँग विवाद हुने, असमझदारी भई काम गर्न समस्या हुने तथा कतिपय अवस्थामा बजेट निर्माणदेखि अनेकौं समस्याहरु झेल्नु परिरहेको सन्दर्भमा त्यसलाई थप स्पष्ट बनाउने विषयमा सम्मेलनमा व्यापक छलफल गर्ने कार्यतालिका रहेको छ ।
राष्ट्रिय सम्मेलन उद्घाटन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले यसअघि विभिन्न समयमा न्यायिक समितिको अधिकारका विषयलाई लिएर आयोजना गरिएको यस्तै प्रकारका राष्ट्रिय सम्मेलन र प्रदेशस्तरमा महिला जनप्रतिनिधिहरुको सम्मेलनमा सहभागी हुँदा महिला जनप्रतिनिधिहरुको समस्या र चुनौतीहरुको बारेमा बुझ्ने मौका पाएको बताउनुभयो । उहाँले महिला नेतृत्वले संविधानप्रदत्त अधिकार, भावनालाई कार्यान्वयन गर्दै समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउन योगदान गरिरहेको बताइन्।
कार्यक्रममा देशभरबाट सहभागी २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरुलाई स्वागत गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जिम्मेवारी निर्वाह गर्दा आएका समस्याहरुको पहिचान गर्ने र समाधानका लागि पहल गर्न सम्मेलन महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सम्मेलनमा आउने निश्कर्षहरुलाई विराटनगर घोषणापत्रको रुपमा जारी गरिने र त्यसको कार्यान्वयनका लागि प्रधानमन्त्री र मुख्यमन्त्रीहरुलाई अपिल गर्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *