काठमाडौँ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्रोत अभावका कारण सञ्चालन हुन नसकेका ५७ वटा आधारभूत अस्पतालहरु आगामी साउनदेखि सञ्चालन गर्ने तयारी गरेको छ।
मन्त्रालयले निर्माण पूरा भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका आधारभूत अस्पताललाई सञ्चालन गर्ने तयारी गरेको हो।
मन्त्रालयले मापदण्डका आधारमा आधारभूत अस्पताललाई जनशक्ति, औजार–उपकरण, औषधी तथा रिएजेन्टसलगायत अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्ययोजना तयारी अघि बढाएका हुन्।
मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ।
यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन्।
कार्यदलले सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनाका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत स्पष्ट पार्न सघाउनेछ।
सबै स्थानीय तहमा आधारभूत अस्पताल बनाउने घोषणा अलपत्र पर्दा पनि सरकारले नियमन र अनुगमन गर्न सकेको छैन । घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले नागरिक सहज स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् ।