काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार र अनियमितता भएको ठहर गरेको राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई प्रतिवेदन बुझाएको छ।

समितिमा रहेका सबै दश जना सांसदहरूले हस्ताक्षर गरेपछि लिङ्देनले नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार समिति सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमा नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटा र तारा लामाले भने थप राय लेखेका छन्।

‘ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितताहरू देखिए भन्नेमा हाम्रो कोही पनि सदस्यको असहमति छैन। सर्वसम्मत राय छ,’ लिङ्देनले भने, ‘कसैको विमति छैन, एउटा थप राय- अझै अध्ययन हुनुपर्थ्यो भन्ने छ। अर्कोमा थप कुराहरू पनि समावेश हुनुपर्थ्यो भन्ने छ। सिफारिसको मूल कुरामा फरक राय छैन।’

उपसमितिको प्रतिवेदन संयोजक लिङ्देनले पोखरा एयरपोर्ट निर्माणका क्रममा झन्डै १० अर्बको अनियमितता भएको हिसाब प्रस्तुत गरे।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि टेन्डर आह्वान हुँदा झन्डै १४ अर्ब लागतको अनुमान गरिएको तर सम्झौता गर्दा २२ अर्बमा गरिएकाले त्यसमा भ्रष्टाचार भएको लिङ्देनले बताए।

‘१४ अर्बको लागतलाई २२ अर्ब पुर्‍याइयो। ठूलो अङ्कमा लागत इस्टिमेट बढाउने कामलाई भ्रष्टाचार र अनियमितताका रूपमा औंल्याइएको छौं,’ लिङ्देनले भने, ‘त्यसलाई भ्रष्टाचार भनिन्छ कि अनियमितता भनिन्छ कि बेरुजु भनिन्छ भन्ने कुरा अख्तियार वा अन्य सम्बन्धित निकायले हेर्नुपर्ने विषय हो। हामीले त्रुटि औँल्याइदियौं।’

उनले यसरी ठेक्का प्रक्रियामै लागत बढाउने क्रममा वार्ता (नेगोसिएसन) गरिएकोले अनियमितता भएको दाबी गरे।

‘१४ अर्ब लागत इस्टिमेट राखेर २२ अर्बमा नेगोसिएसनमा ठेक्का लगाइयो, त्यो अनियमितता त भयो भयो। त्यो २२ अर्बमा पनि गरिनुपर्ने काम हाम्रो आँखाले हेर्दा पनि देखिएन। कागजपत्रले पनि त्यसलाई सपोर्ट गरेन। आयोजनासँग सम्बन्धित पदाधिकारीसँग कागजपत्रहरू माग्यौँ। त्यसले सपोर्ट गरेन,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *