धमाधम खुल्न थाले इलामका सामुदायिक विद्यालय

  • प्रकाशित मिति : April 28, 2025
  • sthaniyasarkar.com

इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो ।

इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षकले बताए ।

इलाम–१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताए । देउमाई नगरपालिका–९ जितपुरस्थित खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाटै सञ्चालनमा आएको छ ।

इलाम नगरपालिका–५ को अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक सोम निरौलाले अभिभावकले विद्यालय खोलाउन आग्रह गरेपनि खुल्न अझै केही दिन लाग्ने बताए । अभिभावकसँग छलफल गरेर निर्णय लिने उहाँको भनाइ छ ।

लामो समय विद्यालय बन्द भएपछि इलाम नगरपालिकाले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विद्यार्थीको भविष्य हेरेर विद्यालय खोलाउन आग्रह गर्दै आइतबार विज्ञप्ति निकालेको थियो । नगरप्रमुख केदार थापाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “समयमा विद्यालयमा विद्यार्थी भर्ना नभएका कारण विद्यार्थीको मनोविज्ञानमासमेत असर परिरहेको साथै अभिभावकहरू समेत गम्भीर र संवेदनशील भएको विद्यमान अवस्था र शिक्षा ऐनमार्फत शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा वार्तासमेत भइरहेकाले, विद्यार्थी भर्ना र परीक्षालाई कत्ति पनि असर नहुने गरी वार्षिक शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन इलाम नगरपालिकाका वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीमा हार्दिक अपिल गर्दछौँ ।”

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले विद्यालय सञ्चालनमा आउन जरुरी रहेको बताए । “विद्यालय भर्नामा असर नहुने गरी सिर्जनात्मक आन्दोलन गर्नुपर्छ । सङ्घीय सरकारले वार्ताबाट शिक्षकका माग सम्बोधन गर्नुपर्छ”, उनले भने, “सामुदायिक विद्यालयका कक्षाकोठा खाली बनाउन मिल्दैन ।”

हिमालय माध्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए ।