कैलाली । सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिको लागि प्रदेश सरकारले काठमाडौमा सरोकारवालासँग छलफल गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा रहेको प्रदेश सरकारले संघीय राजधानीमा रहेका विषयविज्ञहरुसँग आइतबार प्रदेशका प्राथमिकताहरु बिषयक छलफल तथा अन्तरक्रिया गरेको हो ।
प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको कार्यक्रममा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा तथा राष्ट्रीय सभाका सदस्यहरु, प्रदेश मन्त्रीहरु, प्रदेश सभा सदस्य तथा विभिन्न क्षेत्रका बिज्ञहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख्यतया कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य, दुई देशबीच र प्रदेशस्तरिय कनेक्टिभिटी, जलविद्युत, खेलकुद,नदी नियन्त्रण तथा तटबन्धन, भन्सार नाका, औद्योगिक विकास, वन विकासका विषयमा छलफल भएको थियो ।
प्रदेशलाई समृद्ध बनाउन आवश्यक रणनीतिहरु, विकास र समृद्धिका लागि संघीय सरकारको नीति तथा कार्यक्रममा र बजेटले विशेष व्यवस्था गर्नुपर्ने सहभागीहरुको धारणा थियो ।
अन्तरक्रिया कार्यक्रमका उपस्थित परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सुदुरपश्चिमको विकासको लागि एकजुट हुनुपर्ने र हातेमालो गर्नुपर्नेमा जोड दिएकी थिइन् । उनले कृषि, पर्यटन, धार्मिक र साँस्कृतिक क्षेत्र सँगै मानब बिकासलाई पनि अगाडी बढाउनु पर्ने बताइन् ।
कार्यक्रममा मुख्यमन्त्री कमल बहादुर शाहले संविधानको मर्म र भावना अनुसार प्रदेशको विकासका लागि संघीय सरकारले आवश्यक नीतिहरु अवलम्बन गर्नु पर्ने बताएका थिए । समावेशी समन्यायिक प्रादेशिक सन्तुलन सहितको आर्थिक, सामाजिक र भौतिक विकासका क्षेत्रमा वजेट विनियोजन गर्नुपर्ने उनको भनाइ थियो ।
‘प्रदेशको बिकासको लागि संघ सरकारको भूमिका महत्वपूर्ण हुन्छ’, मुख्यमन्त्री शाहले भने, ‘सुदूरपश्चिम प्रदेशमा संचालित राष्ट्रिय गौरवका आयोजनाहरु र रुपान्तरणकारी आयोजनाहरुमा उच्च प्राथमिकता र बजेट विनियोजन संघ सरकारले गर्नुपर्दछ ।’
उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले प्रदेशको उत्पादन निर्यात गरेर प्रदेशसँगै देशलाई पनि समृद्ध गराउन सकिने बताएका थिए ।