काठमाडौं ।  बूढानीलकन्ठ नगरपालिकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयलाई भोलिदेखि पठनपाठन सूचारु गर्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आज भोलिदेखि नियमित पठनपाठन सूचारू गराउन सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो ।

नगरपालिकाले नगरभित्र अध्यापनरत शिक्षकहरूकै सहभागितामा वैशाख ४ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन प्रारम्भ गर्ने गरी शैक्षिक कार्यपात्रो निर्माण गरेको थियो । उत्त कार्यपात्रो पालना हुन नसकेको भन्दै ध्यानाकर्षण गराएको छ ।

संस्थागत विद्यालयहरुमा विद्यार्थी भर्ना र पठनपाठन प्रभावकारी रुपमा सुचारु भइरहेकै समयमा सामुदायिक विद्यालयका शैक्षिक गतिविधिहरु नियमित रुपमा अगाडि बढ्न नसकेको कारण नगरपालिकाले शैक्षिक सुधार, विकास र उन्नयनको लागि अधि बढाएका शैक्षिक कार्यक्रमको कार्यान्वयनमा अवरोध खडा भएकाले बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक हक कुण्ठित भएको नगरपालिकाले जनाएको छ ।

पेसागत हकहितको लागि गरिएको आन्दोलनबाट विद्यार्थीको शिक्षा प्राप्त गर्ने संवैधानिक हकलाई प्रभावित हुन नदिन यस नगरपालिकाको आज बसेको नगर कार्यपालिकाको ६४ औँ बैठकको निर्णयले भोलिदेखि विद्यालयको सुचारु सञ्चालन गरेर नियमित पठनपाठनको सम्पूर्ण प्रबन्ध गर्न विद्यालयहरुलाई निर्देशन दिने निर्णय गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *