काठमाडौं । नेपालको संविधान २०७२ अनुसार संघीय संसदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य छ। प्रतिनिधिसभा (२७५) र राष्ट्रियसभा (५९) गरी कुल ३३४ सदस्यीय संघीय संसदमा कम्तीमा ११० महिला सांसद हुनुपर्ने व्यवस्था रहेको छ।
हाल राष्ट्रियसभामा विभिन्न दलबाट २२ जना महिला सांसद छन्। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन बाट प्रत्यक्ष र समानुपातिक प्रणालीमार्फत कम्तीमा ८८ जना महिला प्रतिनिधिसभामा पुग्ने देखिएको छ।
प्रत्यक्षतर्फ १६५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ले १२५ सिट, नेपाली कांग्रेस ले १८, नेकपा एमाले ले ९, नेपाल कम्युनिस्ट पार्टी ले ८ सिट जितेका छन्।
समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड कटाउने दलमध्ये रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ४ सिट पाउने देखिएको छ।
संवैधानिक प्रावधानअनुसार प्रत्येक दलले आफ्नो कुल सांसद संख्याको कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भएकाले समानुपातिक सूचीबाट धेरै महिला सांसद संसदमा पठाउनुपर्ने अवस्था देखिएको छ। निर्वाचन आयोगले समानुपातिक सांसदको नाम मागिसकेको छ र प्रक्रिया पूरा भएपछि अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाइनेछ।