काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार विगत २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी सुन्दरीजलमा २४.६ मिलिमिटर वर्षा भएको छ। यसपछि नैकापमा १२.२, गोदावरीमा ७.६ र ललितपुरको लेलेमा ५.२ मिलिमिटर वर्षा भएको छ। उपत्यकाका अन्य स्थानमा भने यसभन्दा कम पानी परेको छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम वर्षा भयो भने मध्यम वर्षा र ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टाभित्र १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम वर्षा भएमा धेरै भारी वर्षा तथा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको मानिने मौसमविद् बताउँछन्।
मौसम महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज (शुक्रबार) पनि काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ।
‘तर हिजोभन्दा कम नै वर्षा हुने देखिन्छ’, उनले नेपालखबरसँग भनिन्।
यसैबिच आज बिहान ५४५ बजेको सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.२ डिग्री सेल्सियस देखिएको उनले बताइन्।
यद्यपि आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको तापक्रम सुरुवातमा देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
हिजो (बिहीबार) सुरुवाती मापनमा १५.० डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला १४.४ डिग्री सेल्सियस कायम भएको थियो। अधिकतम तापक्रम भने २५.७ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।
बिहीबार यस्तो थियो तापक्रम सूची
