काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फ १४ जना महिला उम्मेदवार निर्वाचित भएका छन्। तीमध्ये १३ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट र १ जना नेपाली कांग्रेस बाट विजयी भएका हुन्।
निर्वाचन आयोगका तथ्यांकअनुसार प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवारमध्ये ३ सय ९५ जना (करिब ११ प्रतिशत) मात्र महिला उम्मेदवार थिए। तर प्रत्यक्षबाट विजयी हुने महिलाको हिस्सा भने करिब ८ प्रतिशत मात्र रहेको छ।
रास्वपाबाट इन्दिरा राना मगर, तोसिमा कार्की, सोबिता गौतम, निशा डाँगी, रन्जु न्यौपाने, रुबिना आचार्य, बिना गुरुङ, कोमल ज्ञवाली, आशा झा, नीतिमा भण्डारी कार्की, आसिका तामाङ, गौरी कुमारी र पुष्पाकुमारी चौधरी निर्वाचित भएका छन्।
त्यसैगरी बासना थापा भने नेपाली कांग्रेस बाट निर्वाचित भएकी हुन्।
निर्वाचितमध्ये इन्दिरा राना मगर, तोसिमा कार्की, सोबिता गौतम र निशा डाँगी दोस्रो पटक प्रतिनिधिसभा सदस्य बनेका छन् भने अन्य अधिकांश नयाँ अनुहार संसद् पुगेका छन्।
राजनीतिक विश्लेषकहरूले यसपटकको परिणामलाई परिवर्तनको लहर र नयाँ शक्तिप्रतिको आकर्षण को संकेतका रूपमा व्याख्या गरेका छन्।