सोलुखुम्बु। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लामा १२ जनाको उम्मेदवारी दर्ता भएको छ। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १२ वटा विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्ता गर्ने उम्मेदवारहरूमध्ये नेकपा एमालेबाट जिल्ला सचिव कल्पना राई, नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्की, नेपाली कम्युनिस्ट पार्टीबाट निर्वतमान गाउँपालिका अध्यक्ष असिम राई तथा श्रम संस्कृति पार्टीबाट अध्यक्ष वियस राई रहेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ऋषिधन राई, नेपाल मजदुर किसान पार्टीबाट कमल बहादुर मगरले पनि उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) बाट लाक्पा शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजेन्द्र बस्नेत, मंगोल नेसनल अर्गनाइजेसनबाट मङ्गल गुरुङ, मितेरी पार्टी नेपालबाट श्रीध्वज तामाङ उम्मेदवार बनेका छन्। उज्यालो नेपाल पार्टीबाट पेम्बा छिरि शेर्पा र आम जनता पार्टीबाट गुणराज भट्टराईले समेत मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ।

मनोनयन दर्ता पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार असिम राईले आफू नागरिकको सेवकका रूपमा चुनावी मैदानमा उत्रिएको बताउनुभयो। यस्तै नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्कीले जिल्लाको समग्र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस निर्वाचनमा एक मात्र महिला उम्मेदवार रहेकी एमालेकी कल्पना राईले सोलु दुधकुण्ड नगरपालिकाको उपमेयरको रूपमा काम गरेको अनुभव सुनाउँदै नीति निर्माणमा सक्रिय भूमिका खेल्ने बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *