काठमाडौं । देशभर चिसो बढ्ने क्रममा छ । काठमाडौं उपत्यकामा पनि तापक्रम थप घटेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज (आइतबार) बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस छ।
यो सुरुवाती मापन भएकाले अहिले बिहान ८ः४५ बजे फेरि मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम थप घट्ने सम्भावना छ।
हिजो शनिबार पनि सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.२ थियो भने पछि बिहान ८ः४५ बजे ४.५ डिग्री सेल्सियसमा झरेको थियो।
सबैभन्दा तल पुगेको तापक्रम नै त्यस दिनको न्यूनतम तापक्रम हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ। सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ, बादल लाग्यो भने बढ्छ।
यसको ठिक उल्टो दिउँसो आकाश सफा रह्यो भने घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्छ, बादल लाग्यो भने घाम नदेखिने भएकाले घट्छ।