काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (शनिबार बिहान) तराईका धेरै स्थान र उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ।
महाशाखाका मौसमविद् बिनु महजर्नका अनुसार अहिले काठमाडौँ उपत्यकामा पनि हुस्सु लागेको छ।
‘यहाँ यतिबेला भिजिबिलिटी (पारदर्शिता) ३ किलोमिटर छ’, उनले स्थानीय सरकारसंग भनिन्।
मौसमविद्का अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ।
आज मौसम यस्तो रहने प्रक्षेपण
दिउँसो : तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोसी प्रदेशका तराई भूभागमा मध्याह्नको समयसम्म तथा बाँकी तराई भूभागमा मध्याह्नपछि पनि कुहिरोको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
राति : तराई भूभागका अधिकांश स्थानमा हुस्सु रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।