चौरीखर्क सोलु, कार्तिक २४ — लिखु पिके गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्यको सिलान्यास शुक्रबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष श्री मिना कार्की बस्नेत, प्रमुख प्रशासकीय अधिकृत श्री अग्नी प्रसाद पराजुली, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थितिमा सिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो।

गत २०८२ साल असोज २८ गते, लिखु पिके गाउँपालिकाश्री रामेछाप–जिरी जे.भी. निर्माण सेवा कम्पनी बीच कुल लागत रू. ८ करोड ३२ लाख ४६ हजार ५८९ (मु.अ.कर तथा पि.एस. सहित) मा सम्झौता भएको थियो। सम्झौताअनुसार २०८२ साल कार्तिक २४ गतेदेखि निर्माण कार्य सुरु भई तोकिएको समयावधिभित्र भवन सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएकी गाउँपालिका अध्यक्ष श्री मिना कार्की बस्नेतले भवन निर्माण कार्य गुणस्तरीय र तोकिएको समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो। उहाँले प्रशासनिक भवनले गाउँपालिकाको सेवा प्रवाहमा दक्षता र सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो।

सिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री अग्नी प्रसाद पराजुलीले भवन सम्पन्न भएपछि स्थानीय सेवाग्राहीलाई एकै ठाउँबाट सहज रूपमा सेवा उपलब्ध हुने बताए। कार्यक्रममा सहभागी जनप्रतिनिधि र स्थानीयवासीहरूले पनि भवन निर्माणले गाउँको समग्र विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *