काठमाडौं, असोज २७ — सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनाबाट जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडले १० प्रतिशत शेयर प्राप्त गरेको छ।
आइतबार भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्टबीच भएको सहमतिपछि आयोजनाको एक महिनादेखि बन्द रहेको काम पुनः सुरु भएको हो।
यसअघि राजनीतिक दलका प्रतिनिधिहरूको रोहबरमा ६ प्रतिशत शेयर दिने सहमति भए पनि स्थानीय समूहले ‘जेनजी आन्दोलन’ गर्दै १० प्रतिशत नि:शुल्क शेयर माग गर्दै आयोजना बन्द गराएका थिए।
सम्झौता अनुसार, भोटेकोशी पावर कम्पनीले आफ्नो कुल शेयरमध्ये १० प्रतिशत शेयर स्थानीय प्रभावित जनतालाई समेटेर खडा गरिएको पब्लिक लिमिटेड कम्पनीलाई दिनेछ। यो २०७१ सालको पुरानो ६ प्रतिशत शेयर दिने सम्झौतामा थप ४ प्रतिशत समावेश गरी गरिएको नयाँ सहमति हो।
सम्झौतामा जेन–जी पब्लिक इन्भेष्टमेन्टका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी पावर कम्पनीका सचिव विश्वमोहन कर्माचार्यले हस्ताक्षर गरेका छन्।
भदौ २३–२४ गतेको आन्दोलनपछि स्थानीयको ‘भोटेकोशी जेनजी ग्रुप’ले आयोजना अवरुद्ध गर्दै शेयर माग राखेका थिए। कम्पनीले शेयर दिन सकिने भए पनि नि:शुल्क दिन नसकिने अडान लिएको थियो, जसका कारण आयोजनाको काम एक महिनासम्म ठप्प भएको थियो।
हेर्नुहोस् सम्झौतापत्र


